दैनिक ज्यालादारी गरेर हातमुख जोर्दै आएका सर्बसाधारणहरु कोरोना संक्रमणपछि के गरुँ, कसो गरुँ भनेर भौतारिइरहेका बेला सिंहदरबारस्थित संसद सचिवालय भने सांसदहरुको बैंक खातामा दशैं खर्च जम्मा गर्नमा व्यस्त छ। महामारीका बेला संसद सचिवालयले सांसद र तिनका सहयोगीलाई दशैं खर्च बापतको रकम दिएपछि सामाजिक सञ्जालमा त्यसको व्यापक बिरोध शुरु भएको छ।
संघीय संसदमा ३ सय ३४ सांसद छन् भने संघ र प्रदेशसभा गरी ८ सय ८४ जना जनप्रतिनिधि छन्। दशैं खर्च सांसद र तिनका स्वकीय सचिवहरुले समेत पाएका छन्। कोरोनाको उपचारबाट हात झिकेको सरकारले सांसदहरुलाई दशैं खर्च दिएको खबर सार्बजनिक भएपछि कतिपय सांसदले थाहै नपाई आफूलाई दशै खर्च आएको भन्दै रकम फिर्ता गर्ने बताएका छन्।
सरकारको यस्तो निर्णयपछि मुख्य प्रतिपक्षी दलका नाताले नेपाली कांग्रेस भने मौन देखिएको छ। यद्यपि गगन थापालगायतका कांग्रेसका केही सांसदले भने रकम फिर्ता गरेको कुरा संसद सचिवलायमा जानकारी गराइसकेका छन्। तिनैमध्येका एक कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण हुन्। सामाजिक सञ्जालमा आलोचना भएपछि खाँण्ले ट्वीट गर्दै अहिलेको बिषम अबस्था र आम नेपालीले भोग्नु परेको अभाब र पीडालाई ध्यानमा राख्दै जनप्रतिनिधिको रुपमा दशैं भत्ता लिन उचित लागेन भनेका छन्। उनले लेखेका छन्, यो रकम संसद सचिवालय मार्फत सरकारलाई फिर्ता गर्दछु। सरकारले जनहितमा खर्च गरोस्।
संसदीय दलका मुख्य सचेतकले व्यक्तिगत रुपमा पैसा फिर्ता गरेको भन्नु सस्तो लोकप्रियता बाहेक केही नभएको कतिपयको बुझाई छ। संसदीय दलका तर्फबाट बक्तब्य जारी गरी कोरोना महामारीका बेला जनस्वास्थ्यप्रति खेलवाड गर्ने सरकारको यो कदमको बिरोध गर्नु पर्नेमा प्रमुख सचेतक खाँणले भने व्यक्तिगत रुपमा फिर्ता गर्ने निर्णय गरेका छन्।
यस्तो कदमप्रति असहमति जनाउँदै कांग्रेसकै अर्का सांसद डा. मिनेन्द्र रिजालले सामाजिक सञ्जालमार्फत दशैं भत्ता एक एक जनाले फिर्ता गर्ने भनेर निर्णय सार्वजनिक गर्ने भन्दा संसदीय दलकै तर्फबाट नेपाली कांग्रेसका सांसदले फिर्ता लिने निर्णय गर्न प्रस्ताब गरेका छन्। आइतबार ट्वीट गदै डा. रिजालले भनेका छन्, पैसा निकम्मा केन्द्रीय सरकारले भन्दा जनतामाझको स्थानीय सरकारले खर्च गर्ने व्यबस्था मिलाऔं। मेरो आग्रह र निर्णय यहि अनुरुप हुनेछ।
नेकपाका सांसद भीम रावल, जनार्दन शर्मा, देबेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठले पनि दशैं खर्चका नाममा सांसदहरुलाई पैसा दिनुको साटो सो रकम कोरोना उपचारमा खर्च गर्न प्रस्ताब गरेका छन्।