नेकपाका सांसद भीम रावलले आफ्नो खाताबाट दसैं भत्तावापत आएको रकम कट्टा गर्न आग्रह गरेका छन् । उनले ट्विटरमार्फत् संसद सचिवालयले सांसदको पारिश्रमिकका रूपमा जम्मा भएको रकमबाट दसैं भत्तावापत आएको रकम कट्टा गर्न आग्रह गरेका हुन् ।
उनले हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् भन्दै आफ्नाे खाताबाट रकम कट्टी गर्न मञ्जुरी दिएका छन् ।
सांसद रावलले दसैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु अावश्यक नभएकाे समेत बताए।सांसद रावलले दसैं भत्ता फिर्ता गर्ने सामाजिक सञ्जालबाट घोषणा गरे पनि संसद सचिवालयलाई निवेदन भने दिएका छैनन् ।
नेकपाका प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पनि दशैं भत्तामात्र नभइ काेराेना संक्रमण यताकाे तलब पनि नलिने घाेषणा गरेका छन् ।संघीय संसद सचिवालयबाट सांसदहरूले दसैं भत्तावापत एक महिनाको पारिश्रमिक बराबर रकम प्राप्त गरेका हुन् ।
सांसदहरूले औपचारिक रूपमा निवेदन दिएमा दसैं खर्च वापतको रकम फिर्ता गरिदिने संसद सचिवालयले जनाएको छ । यद्पी संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले आइतबारसम्म कुनै पनि सांसदले दसैं भत्ता फिर्ता गर्न भनेर निवेदन नदिएको बताए ।