मुख्य बिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा हेलचक्राइँ गरेर जनताको जीवनमा खेलवाड गरेको भन्दै कोरोना नियन्त्रण र भष्टाचार रोक्ने कदम नचाले दसैंलगत्तै आन्दोलनमा चेतावनी दिएका छन्।
सेनिटाइजरदेखि मास्कसम्म भ्रष्टाचार भएको भन्दै सभापति देउवाले यति भ्रष्टाचार त अहिलेसम्म आफूले नसुनेको बताए। उनले दशैंपछि संसद बैठक डाक्न पनि पार्टीले माग गर्ने बताए।
‘यो गैरजिम्मेवार र संवेदनशीलहीन सरकार हो। मान्छेको जीवनमा हेलचक्राइँ गरेको छ। मानिसको जीवन बचाउन हरसंभव प्रयास गर्नुपर्नेमा त्यसो भएन,’ उनले भने, ‘संसदमा अब हंगामा गर्नुपर्छ। दसैंलगत्तै आन्दोलन गर्नुपर्छ।’
पछिल्लो समय कोरोनाको केन्द्र काठमाडौं हुँदा पनि सरकारले आइसोलेसनहरू व्यवस्थापन गर्न नसकेको देउवाको भनाई थियो। अक्सिजनसहित व्यवस्था भएको कम्तिमा एक हजार बेडका आइसोलेसन काठमाडौं र सातै प्रदेशमा तयार राख्नुपर्नेमा सरकारले कामै नगरेको उनको आरोप थियो।
‘अक्सिजनसहित व्यवस्था गरी आइसोलेसन तयार गर्ने काम सरकारको हो। तर सरकारले काम नै गरेको छैन,’ पार्टीले बनाएको कोरोना अनुगमन समितिको प्रतिवेदन बुझ्दै देउवाले भने, ‘काठमाडौंमा धेरै आइसोलेसन बनाउनुपर्छ। स्थिति भयावह भइसकेको छ। आइसोलेसन बेडको हाहाकार भइरहेको छ।’
सभापति देउवाले भने, ‘तुरून्तै सरकारले भेन्टिलेटर, अक्सिजनसहित व्यवस्था हुने आइसोलेसन तयार गरोस्,यदी सरकारले यी काम गरेन भने हामी विरोध गर्छौं।’
जनताको कुनै वास्ता नगरेको सरकारले जनता मरे मरून् भन्ने अवस्थामा पुगेको बताए। देउवाले भने, ‘सरकारले यस्ता महामारीमा सबैभन्दा धेरै काम गर्नुपर्ने हो। तर जनताको मतलव नै गरेन।’