नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले छिमेकी चीनले सीमा क्षेत्रमा विस्तारवाद लागू गरेको आरोप लगाएका छन्।
चीनसँगको सीमा क्षेत्रमा रहेका पीलरहरुको स्थलगत अवस्थाको अवलोकन गरेर सदरमुकाम सिमकोट फर्केपछि नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता शाहीले यस्तो आरोप लगाएका हुन्।
उनले भने, ‘एउटा असल छिमेकीको रुपमा चीनलाई हेरिएको भएपनि सीमाको स्थलगत अवलोकन गर्दाको अवस्थालाई हेर्दा चीनले नेपाल माथि विस्तारवाद लागू गरेको छ। यसो गरेर चीनले नेपालप्रति बिस्तारबाद लाद्ने नीति लिएको प्रष्ट हुने उनको भनाई थियो।
कर्णाली प्रदेश सभा प्रतिपक्षी दलका नेता समेत रहेका शाहीले सिमा क्षेत्र हिल्सामा बसेका नेपाली सुरक्षाकर्मीहरुलाई पिलर अनुगमनमा जाँदा गरेको अभद्र व्यवहार गरेर चीनले आफू शक्तिशाली भएको अहंकार प्रस्तुत गर्न खोेजेको आरोप लगाए।
सीमा क्षेत्रका नेपालीलाई पिलरका बारेमा नबोल्न चीनले धम्की दिने गरेको उनले बताए। आफूले तयार पारेको स्थलगत प्रतिवेदनलाई जिल्लामा सर्वदलीय बैठक, स्थानीय अधिकारीलाई पनि जानकारी गराउने र केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाली काँग्रेसका सभापति, नेकपाका अध्यक्ष प्रचण्ड लगाएका नेताहरुलाई पनि पेश गर्ने नेता शाहीको योजना छ।