प्रदेश नं ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा सोमबार पनि रुपन्देहीमा प्रदर्शन भएको छ।
नेपाली कांग्रेसले आह्वान भएको विरोध प्रर्दशनमा जिल्लास्थित विभिन्न संघ संस्थाको प्रतिनिधित्व रहेको थियो। प्रदेश सभा घेराउ गर्न पुगेका प्रदर्शनकारीलाई बाटैमा प्रहरीले रोकेपछि नेपालगञ्ज रोडको सडकमै बसेर उनीहरुले प्रदर्शन गरेको थिए।
त्यसक्रममा प्रदर्शनकारीहरुले प्रदेशको राजधानी दाङ लैजाने प्रस्ताव फिर्ता गर्न माग गरेका थिए। मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्दै उनीहरुले निर्णय नसच्याए शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए।
विरोध प्रर्दशनमा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सरकारले जनभावना विपरित ल्याएको राजधानी सार्ने प्रस्ताव तत्काल फिर्ता लिन माग गरे। उनले अन्य प्रदेशका अस्थायी राजधानीलाई स्थायी राजधानीको रुपमा घोषणा गर्न मिल्ने तर ५ नं.प्रदेशको राजधानी किन नहुने भन्दै सरकारलाई प्रश्न गरेका थिए।
यसअघि आइतबार साँझ काठमाडौंबाट फर्कदै गरेका मुख्यमन्त्री पोखरेललाई लक्षित गरेर प्रर्दशनकारीहरुले ढुंङा प्रहार समेत गरेका थिए। ढुंगा प्रहार गरेको अभियोगमा प्रहरीले कांगे्रसका ९ जना कार्यकतालाई प्रक्राउ गरेको छ।