प्रदेश सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै मुख्य विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।
सोमबारको बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमतिबाट राजधानीको बिषय टुंगो लगाउनु पर्ने बताएका थिए। कनौडियाले बोले लगत्तै सांसदहरुले रोष्टम घेराउ गरेका छन् । उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन्।
बुटवल, दाङ वा कपिलवस्तु जहाँ राजधानी बनाए पनि औचित्य प्रमाणित गरेर प्रस्ताव ल्याउनुपर्ने उनको भनाई थियो। मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री र अर्का अध्यक्षको बैशाखी टेकेर एकलौटी प्रस्ताव ल्याएको भन्दै कनौडियाले भने, ‘कसैको रहर पूरा गर्न र राजनीतिक स्वार्थ पूरा गर्न यो प्रस्ताव आएको छ।’