प्रदेश नं ५ को राजधानी बुटवलबाट दाङ सार्न लागेको विरोधमा बुटवलमा बिहानैदेखि प्रदर्शन भएको छ। प्रशासनले शनिबार रातिदेखि लगाएको निषेधाज्ञा तोड्दै स्थानीयहरुले प्रदर्शन गरेका हुन्।
रुपन्देहीका उद्योगी तथा व्यवसायीहरुको आह्वानमा बुटवलको राजमार्ग चौराहबाट नारासहित विरोध प्रदर्शन भएको छ। ट्राफिकचोकमा आयोजित कोणसभामा उद्योगी व्यवसायीहरुले लुम्बिनी क्षेत्रका सांसदहरुलाई ’हुतियारा’ भन्दै आलोचना गरे। रुपन्देहीलाई राजधानी बनाउने भन्दै चुनावमा मत लिएर पूर्वाधार नै नभएको स्थानमा राजधानी तोकिएको भन्दै उनीहरुले सरकारको आलोचना गरेका छन्।
व्यवसायीहरुले पार्टीको ह्विप छाडेर जनताको पक्षमा उभिन सांसदहरुलाई आग्रह गरे। उनीहरुले प्रदेश सांसदहरुलाई आन्दोलनमा सहभागि हुन आग्रह गरे। रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले सांसदले खुट्टा नकमाई जनताको पक्षमा उभिन आग्रह गर । उनले भने ’मुख्यमन्त्रीले आन्दोलनसँग डराएर निषेधाज्ञा लगाउनु भएको छ, हामी गोली खान तयार छौं, आन्दोलनबाट विश्राम लिदैनौं।’
बुटवल उद्योग वाणिज्य संघका अध्यक्षले खेम हमाल, होटल व्यवसायी समुन्द्र जिसी,रुपन्देही उद्योग संघका कार्यबाहक अध्यक्ष माधव पौडेल, फुलबारी विकास समितिका अध्यक्ष खेम लुईटेल लगायतले प्रदेश सरकारको निर्णयबिरुद्ध आन्दोलन अघि बढाउने बताए।
व्यवसायीले सोमबार लुम्बिनी बन्दको आह्वान गर्दै प्रदेशसभा घेराउ गर्ने र सांसदलाई प्रवेश नदिने बताएका छन्।