प्रदेश नं. ५ को राजधानी कपिलवस्तु बनाउनु पर्ने माग गर्दै रिले अनसन शुरु भएको छ।
बुद्धकालिन महत्व बोकेको सिद्धार्थ गौतमका बाबु शुद्धोधनको ऐतिहासिक राजधानी कपिलवस्तुलाई प्रदेश ५ को राजधानी बनाउनु पर्ने भन्दै सदरमुकाम तौलिहवाको जिल्ला प्रशासन कार्यालय अगाडि अनसन शुरु भएको हो। अनसन समाजसेवी रउफ अहमद खा, सुदीप पौडेल, अशोक कुमार गुप्ता, सन्तोष कसौधन र बृजेश भटरा छन्।
प्रदेश सरकारले राजधानीको नामाकरणको लागि प्राचिन स्थलको महत्व दिएर प्रदेशको नाम बुद्ध प्रदेश र राजधानी कपिलवस्तु नै हुनुपर्ने अनसनरत रउफ अहमद खाको भनाई छ। प्रदेश नं. ५को परासीदेखि बर्दियासम्मका जनतालाई पायक पर्ने कपिलवस्तु भएको भन्दै ऐतिहासिक तथा पुरातत्विक महत्वको कपिलवस्तुलाई राजधानी नबनाउदासम्म रिले अनसन जारी रहने अनसनरत समाजसेवी सुदीप पौडेलले बताए।
प्रदेश ५ को स्थायी राजधानीका लागि दाङको भालुवाङमा रहने गरी प्रदेश सभामा प्रस्ताव गरेसँगै कपिलवस्तुमा शुक्रबार टयार बालेर विरोध प्रदर्शन गरिएको थियो।