चीनल नेपाली भूभाग अतिक्रमण गरेको भनी ‘विवादास्पद अभिव्यक्ति’ दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले गल्ती बोलेंकाे भन्दै क्षमा मागेका छन् । स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको गृह मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् ।गृहले बुधबार हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
सहायक प्रजिअ हमालले नाम्खा गाउँपालिका–६ लिमीमा ११ नम्बर सीमास्तम्भ नै गायब भएको भन्दै छानबिनका लागि स्थलगत प्रतिवेदन तयार पारी गृहमा पठाएका थिए । गृहमा प्रतिवेदन पठाएपछि हमालले विभिन्न सञ्चारमाध्यमलाई चीनबाट भूमि अतिक्रमण भएको र छानबिनका लागि गृहमा पत्र पठाइसकेको जानकारी दिएका थिए ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पुग्ने गरी अभिव्यक्ति दिएका कारण सहायक प्रजिअ हमाललाई स्पष्टीकरण सोधिएको बताए । ‘यति गम्भीर र संवेदनशील विषयमा बोल्नैपरे परराष्ट्रले बोल्छ, हामीलाई यो अधिकार छैन,’ बूढाले कान्तिपुरसित भने । उनले हुम्लाबाट आएको स्थलगत प्रतिवेदनमाथि पनि छानबिन भइरहेको बताए ।
नेपाली सेना र सशस्त्र प्रहरीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको टोली ११ नम्बर स्तम्भ ढुंगाले छोपिएको अवस्थामा फेला पारेको छ ।