राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्हसम्बन्धी विवाद सुल्झिएकाे छ ।अब एकीकृत राप्रपाको चुनाव चिन्ह हलो हुने भएको छ ।यसअघि हलो राप्रपा संयुक्तको र राप्रपाको गाई चुनाव चिन्ह थिए । राप्रपा संयुक्तका नेताहरुले हलो हुनु पर्ने र राप्रपाका नेताहरुले गाई हुनु पर्ने अडान नछोडेपछि विवाद हुँदै आएको थियो ।
सहमतिलाई केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको केन्द्रीय कार्यालयका प्रमुख ध्रुवबहादुर प्रधानले जानकारी दिए । बैठकले पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय पनि गरेको हो ।चुनाव चिन्हमा विवाद देखिएपछि अहिलेसम्म पार्टी निर्वाचन आयोगमा दर्ता भएको थिएन ।
गत फागुन २४ गते तत्कालिन राप्रपा र राप्रपा संयुक्तबीच एकिकरण भएको थियो ।पार्टीको झण्डा साविक राष्ट्रिय प्रजातन्त्र पार्टीको गाई अंकित रातो, पहेँलो र निलो रंगको हुने सहमति बनेको छ । पार्टीको एकता महाधिबेशन २०७८ बैशाख २५ देखि २८ सम्म काठमाण्डौमा गर्ने निर्णय बैठकले गरेको छ ।