सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताका बाँकी कामलाई पूरा गर्नका लागि ठोस प्रस्ताव ल्याउन पार्टीका अध्यक्षद्वय र महासचिवलाई जिम्मा दिएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एकताको बाँकी काम पुरा गर्नका लागि सचिवालयमा ठोस प्रस्ताव ल्याउन अध्यक्षद्वय र महासचिवलाई १० दिनको समय दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ठोस प्रस्ताव सचिवालयको बैठकमा प्रस्तुत भएपछि त्यसका आधारमा छलफल गरेर सचिवालयले टुंगो लगाउने निर्णय भएको उनले बताए।
त्यस्तै बैठकले लामो समयदेखि संवैधानिक निकायका रिक्त पदमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । प्रवक्ता श्रेष्ठले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको तर कुन पदमा कसलाई पठाउने भन्ने विषयमा भने बैठकमा छलफल नभएको जानकारी दिए।
बैठकले यसअघि नै नेताहरुसँगको परामर्शमा मन्त्रिपरिषद् पुनगर्ठनको जिम्मा प्रधानमन्त्री ओलीलाई दिएको छ । प्रवक्ता श्रेष्ठले अन्य विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयलाई दुई/तीन दिनभित्रै अर्को बैठक बसेर निर्णय लिने बताए। सचिवालय बैठक स्थायी समितिको बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन प्रक्रियामा लैजाने सन्दर्भमा सौहार्दपूर्ण र सकारात्मक छलफल भएको उनले बताए ।