नेपाली कांग्रेसकाे केन्द्रीय कार्यासमिति बैठकमा सहभागी हुन जाने केन्द्रीय सदस्यहरुले पीसीआर परीक्षण अनिवार्य गर्नु पर्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले अगाडी सदस्यहरुको पीसीआर परीक्षण अनिवार्य गर्न पनि केन्द्रीय कार्यालयलाई निर्देशन दिएका छन् । सभापतिको निर्देशनपछि केन्द्रीय कार्यालयले सदस्यहरुको परीक्षण गरिदिने भएको छ ।
परीक्षणका लागि पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई अनिवार्य रुपमा असोज १५ गते विहान ११ः०० देखि ३ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर आग्रह गरेका छन् ।
पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न सभापति देउवाले असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाएका छन्।
बैठकले महाधिवेशनको मिति सार्ने र केन्द्रीय कार्यासमितिको म्याद थप्नेछ । नेताहरुका अनुसार कोरोना महामारीका कारण तोकिएको मिति २०७७ फागुन ७–१० मा महाधिवेशन गर्न असम्भव भएकाले महाधिवेशनको मिति छिटोमा बैशाख र ढिलोमा असारसम्म पुग्नेगरी सार्ने तयारी गरिएको छ ।