प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बनाउनु पर्ने बताएका छन् ।
राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा गएराति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई ‘भिडियो’मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त विश्व संस्था निरन्तरता र रूपान्तरणको दोसाँधमा रहेको बताए।
राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सव शान्ति, समृद्धि र न्यायका निम्ति सामूहिक प्रतिबद्ध व्यक्त गर्ने अवसर भएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले उक्त संस्थाको शान्ति स्थापनाका कार्यमा छ दशकभन्दा बढी समयदेखि नेपालले व्यावसायिक एवं समर्पित सेवा उपलब्ध गराउँदै आएको समेत चर्चा गरे ।
शान्ति-सुरक्षा, विकास र मानवअधिकारका क्षेत्रमा नेपाल र राष्ट्रसङ्घबीच बढ्दो साझेदारीप्रति उनले सन्तुष्टि व्यक्त गरे ।
एकता, ऐक्यबद्धता र सहयोगको कुनै विकल्प नभएकाले एकता, ऐक्यबद्धता र सहयोगका मूल्यमान्यताप्रतिको प्रतिबद्धताप्रति सबै सदस्य राष्ट्रले आफूलाई पुनर्पुष्टि गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले व्याख्यानमा नभई कार्यान्वयनमा जानुपर्ने खाँचो औँल्याए ।आणविक, रासायनिक, जैविकलगायत आम विनाशका सबै हातहतियारको उन्मूलनमा राष्ट्रसङ्घको विशेष भूमिकाको अपेक्षा विश्वले गरेको प्रधानमन्त्रीले बताए ।
वार्षिकोत्सवको उक्त कार्यक्रमलाई ८८ देशका राष्ट्राध्यक्ष र ४४ मुलुकका सरकार प्रमुखसहित १८२ वक्ताले सम्बोधन गर्ने कार्यक्रम छ ।