नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला आज डिस्चार्ज भएका छन् ।चार दिनकाे अस्पताल बसाइमा महामन्त्री कोइरालालाई ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा.विश्वनाथ कोइराला नेतृत्वको चिकित्सकीय टोलीले उपचार गरेको थियो ।
भदाैँ ३१ गते ओम अस्पताल भर्ना भएका कोरोना संक्रमित डा. कोइरालाकाे फाेक्साेमा समस्या आएकाे थियाे ।फेसबुकमा तस्बिर राखेर महामन्त्री कोइरालाले आज आफू अस्पतालबाट डिस्चार्ज भएको उल्लेख गरेका छन् ।
उनले आज फेसबुकमा लेखेका छन्,‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थ लाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु, नेता तथा कार्यकर्ताहरु,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा.विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु ।’
उनले चिकित्सकको सल्लाह मोजिम केही दिन होम आइसोलेसनमै बसेर आराम लिने पनि बताएका छन्।उनलाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।