प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता पुन: दाेहर्याएका छन्।
संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ प्रतिबद्धता जनाएका हुन् ।
कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीले दावी गरे । ओलीले महामारीको अवस्था नआएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिबद्धतालाई पूरा गर्न सकिने समेत बताए ।
प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेबाट सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाएको बताए ।
२०७२ असोज ३ गते संविधान सभाबाट निर्मित ‘नेपालको संविधान’ जारी भएको पाँच वर्ष पुगेर छैटाैं वर्ष प्रवेशका अवसरमा यो समारोह आयोजना गरिएकाे हाे । यस विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी थिए ।साेअवसरमा नेपाली सेनाको टुकडीले केही कार्यक्रम मात्रै प्रस्तुत गरेकाे थियाे।