नेपाली कांग्रेसले मृत्यु भइसकेपछि कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ। शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णय गलत भन्दै कांग्रेसले सुझबुझका साथ मात्रै यस्ता संवेदनशील विषयमा निर्णय गर्न कांग्रेसले आग्रह गरेकाे छ।
‘शंकास्पद मृत्यु भएका व्यक्तिको पीसीआर परीक्षण गरिनु झनै जरुरी हुन्छ। आफ्नो परिवारको सदस्यको मृत्यु हुनुको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा हो’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ। कांग्रेसले मृत्युपश्चात् मात्रै कोरोना पुष्टि भएका कयौं विवरण सार्वजनिक भएकाे भन्दै परीक्षण नरोक्न भनेको हो।
‘मृत्युपछि मात्रै पीसीआर ? भनेर भएका आलोचना अन्त्य गर्न सरकारको पछिल्लो निर्णयले एक हदसम्म सघाउला तर, जिम्मेवार राज्यले नागरिकको आलोचनाबाट जोगिने उपायको खोजीमा होइन कोरोनाबाट नागरिकलाई जोगाउने रणनीतिको विकासमा आफूभित्र योग्यता र सक्षमताको खोजी गर्न जरुरी हुन्छ’, विज्ञप्तिमा भनिएको छ। राज्यले कुनै पनि बहानामा यो दायित्वबाट पन्छिन नमिल्ने कांग्रेसको भनाइ छ।
‘जीवित छँदै परीक्षण नगरिदिँदा परिवारले एकातर्फ तनाव भोगिरहेकै हुन्छ, मृत्युपश्चात् पनि शंकास्पद स्थिति कायम राखिदिँदा झनै अन्याेल र फरक ढंगको मानसिक तनाव बढेर जानेछ’, विज्ञप्तिमा कांग्रेसले भनेको छ, ‘शंकास्पद मृत्युको परीक्षणबाट रिपोर्ट नेगेटिभ आए मृत्युपछिको एक अर्को मानसिक तनावबाट परिवार मुक्त हुन सक्नेछन्।’