झण्डै ६ महिनादेखि बन्द रहेका आन्तरिक हवाई उडान तथा लामो दूरीका यातायात आजदेखि सञ्चालन हुने भएका छन्।
गत चैत ११ गतेदेखि बन्द हवाई उडान र लामो दूरीका यातायात बन्द थिए। सरकारले ती सेवा सञ्चालन गर्ने निर्णय गर्दै लामो दूरीका यातायात सञ्चालन हुँदा ५० प्रतिशतसम्म बढी भाडा यात्रुबाट असुल्न व्यवसायीलाइ बाटाे खाेलिदिएकाे छ।
हवाइजहाजको भाडा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोक्ने जनाइएको छ। आन्तरिक हवाइजहाज र लामो दूरीका यातायातका साधनले स्वास्थ्यका मापदण्ड पूरा गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउने छन्।
सिटमा एक जना मात्र राख्ने पाइने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने तथा सेनिटाइजर र भौतिक दूरी कायम राखेर हवाई र लामो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ। सवारी चालक र सहचालकले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनाका साथै सवारी साधनले दैनिक निर्मलीकरण गर्नुपर्नेछ।
लामो दूरीका यातायातका लागि भौतिक तथा पूर्वाधार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप मापदण्ड बनाउन सक्ने निर्णय गरिएको छ । सोको अनुगमन यातायात व्यवस्था विभाग र ट्राफिक कार्यालयले गर्ने जनाइएको छ । लामो सयमदेखि हवाई उडान बन्द भएको कारणले हवाई संचालक अप्ठयारो परेकोले संचालन गर्न अनुमति दिइएको उनले जानकारी दिए । यात्रु चढ्ने र ओर्लने बेलामा ढोकामा सेनिटाइजर प्रयोग गर्नुपर्ने छ । विमान चालक र सहचालक र अन्यले मास्क, पञ्जा जस्ता स्वास्थ्यका मापदण्ड पूरा गर्नुपर्ने छ ।
हवाई उडानको अनुगमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने छ । अन्तराष्ट्रिय हवाई उडान अनुमति यस्तै अन्तरराष्ट्रिय हवाई उडानसम्बन्धी निर्णय पनि सरकारले गरेको छ । सरकारले स्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गरी सङ्क्रमणको जोखिमको विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा पर्यटन मन्त्रालयले नियमित तथा चार्टन उडानका लागि अनुमति दिन सक्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
विदेशबाट आउने यात्रुको यात्रा शुरु गर्नुभन्दा पहिले ७२ घण्टाअघिको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । असोज ३० सम्म अन्तरराष्ट्रिय नाका बन्द सरकारले अन्तरराष्ट्रिय सीमानाका बन्द अवधि असोज ३० गतेसम्म कायम राख्ने निर्णय गरेको छ ।