नेपाली कांग्रेसका उपसभापति विलमेन्द्र निधिले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्।
उपसभापति निधिले मुखर्जी नेपालको एकजना असल मित्र भएको स्मरण गर्दै नेपालमा लोकतन्त्र, स्थिरता र विकासका लागि उहाँले सशक्त योगदान गरेको बताएका छन्।
नेपाल भ्रमणमा आएका मुखर्जीलाई उपप्रधान एवं गृहमन्त्री निधिले जनकपुरमा स्वागत गरेका थिए। त्यसक्रममा मुखर्जीले जानकी मन्दिरको दर्शन र पूजाआजा गरेका थिए। सोही दिन जनकपुरमा मुखर्जीको नागरिक अभिनन्दन गरिएको थियो।
कांग्रेस उपसभापति निधिले दिल्ली, काठमाडौं र जनकपुरमा उहाँसँगका भेट सधैं स्मरणीय भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
पूर्व राष्ट्र मुखर्जीको ८४ वर्षको उमेरमा सोमबार निधन भएको थियो। फोक्सोमा संक्रमण भएपछि अस्पताल भर्ना गरिएका मुखर्जीलाई कोरोना भाइरसको संक्रमण पनि भएको थियो।