नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बैचारिक रुपमा प्रष्ट र साँगठनिक रुपमा सुदृढ कांग्रेस नै आजको आबश्यकता भएको बताएका छन्।
सवल कांग्रेसका लागि आन्तरिक लोकतन्त्रः सिद्धान्त र व्यवहार विषयमा प्रजातन्त्रवादी प्राध्यापक संघले आयोजना गरेको जुम कन्फरेन्समा बोल्दै उपसभापति निधिले यति भएपछि आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्तिका रुपमा पुनः स्थापित हुने दाबी गरे।
तर त्यसका लागि निर्वाचनअघि हुने पार्टीको १४ औं महाधिबेशनमा बैचारिक एकताको आबश्यकता रहेको उनको भनाई थियो। उपसभापति निधिले महाधिबेशनमा सर्बसम्मत नेतृत्व चयन गर्न सकेमा पार्टीको केन्द्रदेखि तल्लो तहसम्मका गुटबन्दी कमी हुने बिश्वास व्यक्त गरे। बिचारलाई प्राथमिकता दिएर अघि बढ्नसाथ गुटबन्दी स्वतः कम हुँदै जाने निधिले उल्लेख गरे। महाधिबेशनमा सर्बसम्मत नेतृत्व चयन भएमा त्यसको सन्देश देशभित्र र बाहिरसम्म जाने र त्यसको प्रत्यक्ष प्रभाब आगामी निर्वाचनमा देखिने उनको भनाई छ।
उनले आउने चुनावमा कांग्रेसले जित्न नसकेमा संविधान र राजनीतिक प्रणालीमाथि नै खतरा उत्पन्न हुने बताए। कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्ने जिम्मेवारी पनि कांग्रेसकै भएको भन्दै निधिले संविधानमा रहेका कमिकमजोरी परिमार्जन गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउनु पर्नेमा जोड दिए।
जनवादी केन्द्रीयतामा विश्वास गर्ने कम्युनिष्टहरुबाट संघीयताको संरक्षण र प्रवद्र्धन हुनै नसक्ने निधिको भनाई थियो।
कार्यक्रममा प्रा. विनय कुशियतले विषय प्रस्तुत गरेका थिए भने शान्तिकृष्ण अधिकारले टिप्पणी गरेका थिए।