नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा आफूलाई मनोनित गर्ने पार्टीको पूर्वनिर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन्।
नेकपाको गत फागुन १४ को सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः लैजाने तयारी गरिरहेका बेला नेता गौतमले चेतावनी दिदैं ६ महिनाअघिको निर्णय यताउता नगर्न भन्दै कार्यान्वयन गर्नुपर्ने बताएका छन्। उनले राष्ट्रियसभामा आफूले जान्न नभनेको भन्दै निर्णय कार्यान्वयनमा जोड दिएका छन्।
डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि ६ महिनादेखि राष्ट्रिय सभामा एक सीट खाली छ। खतिवडा सांसद नभए पनि मन्त्रीका हैसियतमा कार्यरत छन्। सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संविधानको व्यबस्था अनुसार उनको अबधि भदौ २० गते पूरा हुदैछ। खतिवडालाई राष्ट्रियसभाको रिक्त एक सिटमा मनोनित नगरेमा उनको मन्त्री पद स्वतः जान्छ।