प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीमा सीता रामको भव्य मूर्ति बनाउन दिएको निर्देशनको मुख्य बिपक्षी दल नेपाली कांग्रेसले कडा आलोचना गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको उक्त निर्देशनप्रति कडा आलोचना गर्दै ट्विट गरेका छन्।
‘भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने, द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार?’, शर्माले ट्विटमा लेखेका छन्।
उनले लेखेका छन्, ‘यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल माक्र्सको आत्मालाई शान्ति मिल्ला कि मिशन लिम्पियाधुरालाई बल पुग्ला ?’
भगवान रामको वास्तविक जन्मभूमि नेपालमा रहेको दाबी गर्दै प्रधानमन्त्री ओलीले शनिबार माडीका जनप्रतिनिधिलाई बालुवाटार बोलाएर छलफल गरीे रामको जन्मभूमि माडीको अयोध्यामै पर्ने दाबी गर्दै रामनवमीमा भव्य मेलाको तयारी गर्न निर्देशन दिएका थिए।