भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन्।
भारतीय उद्यमी तथा व्यबसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डिया इन्डष्टीद्धारा शनिबार आयोजित भर्चुअल सम्मेलनमा विदेशमन्त्री जय शंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका हुन्।
‘हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई हो,’ भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ।’
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिंदा त्यसको नेपालमा तीव्र विरोध भएको थियो। नेपाल भ्रमणमा आएको बेला संसदलाई सम्बोधन गर्दै मोदीले नेपाल बुद्ध भूमि भएको बताएका थिए। तर दुई वर्षअघि संयुक्त राष्ट्रसंघको महासभामा उनै मोदीले, भारतले विश्वलाई बुद्ध दिएको बताएका थिए। बुद्ध भारतमा जन्मिएको भनेर देखाउन भारतले नक्कली कपिलवस्तुसमेत बनाएको छ।
पछिल्लो समय नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याय नेपालमै भएको दाबी गर्दै त्यस सम्बन्धी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन्। कतिपयले बिदेशमन्त्री जयशंकरले प्रधानमन्त्री ओलीलाई रामको जबाफ दिन बुद्धभूमिको प्रसंग अघि सारेको टिप्पणी गरेका छन्।