पहिरोबाट बिस्थापित रसुवाको आमाछोदिङ्मो गाउँपालिका १ फुलबारीका ८ परिवारलाई सांसद मोहन आचार्यले अस्थायी आवास निर्माणका लागि सहयोग गरेका छन्।
नेपाली कांग्रेसका सांसद आचार्यले आवास निर्माणका लागि आवश्यक सामाग्रीसहित राहतस्वरुप खाद्यान्न सहयोग गरेका हुन्।
सदरमुकाम धुन्चेस्थित केबुमा ३ रोपनी जग्गा भाडामा लिएर अस्थायी आवास निर्माणका लागि प्रति परिवार ४० थान जस्ता, २५ वटा बाँस र आवश्यक तार उपलब्ध गराएको सांसद आचार्यका स्वकीय सचिब सुनिल पौडेलले बताए। जग्गाको भाडा सांसद आचार्यले नै व्यहोर्ने छन्। आइतबार राती अबिरल बर्षासँगै आएको पहिरोबाट हाकुस्थित फुलबारी गाउँ उच्च जोखिममा परेको छ भने पहिरोले ३ घर पूर्ण रुपमा क्षति भएको छ।
यसैबीच, बिनासकारी भुकम्पमा आमाछोदिङ्मो गाउँपालिका १ र २ बाट बिस्थापित भई सदरमुकाम धुन्चेमा रहेका १०५ परिवारलाई सांसद आचार्यले प्रति परिवार २५ केजी चामल, तेल १ लिटर, २ केजी नुन र दाल २ केजी सहयोग गरेका छन्।
उक्त सामाग्री प्रदेश सांसद प्रेम तामाङ, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ,नेपाली कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले बिहिबार सदरमुकाम धुन्चेमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन्।