सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता प्रक्रियाले पूर्णता नपाउँदै पार्टी फुट्न सक्ने भन्दै मानसिक रुपमा तयार रहनुपर्ने बताएका छन्।
राजधानीको एक कलेजमा बुधबार आयोजित ओलीइतर पक्षको अनौपचारिक भेलामा अध्यक्ष दाहालले खराब परिस्थितिका लागि मानसिक रुपमा तयार रहन आग्रह गरेका हुन्। भेलामा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य पम्फा भुसाल र रघुजी पन्त सहभागी थिए।
दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीमा मेरो गोरुको बाह्रै टक्का भन्ने दम्भका कारण एकता सृदृढ ढंगले अघि बढ्न नसकेको प्रष्ट पारे। उनले अहिले जारी बहसलाई पद बाँडफाँड र लेनदेनका रूपमा मात्र नबुझ्न आग्रह गरेका दाहालले सैद्धान्तिक मतभेद नै भएको बताए। सम्बोधनका क्रममा उनले सबै कुरा आफ्नो बशमा नहुने भन्दै कतिपय कुरा नचाहदा नचाहदै पनि हुने गरेको बताए।
राम्रो परिस्थिति बनाउन आफूहरु लागि परेको भन्दै अध्यक्ष दाहालले यति भनिरहदा संभाबित खराब परिस्थितिका लागि पनि मानसिक रुपमा तयार हुनुपर्ने उल्लेख गरे। त्यसका लागि तयार नभएमा एक्कासी खराब परिस्थिति आउँदा डिप्रेसनमा जाने खतरा पैदा हुने उनको भनाई थियो।
पार्टीभित्र एकता कायम राख्न आफूहरुले धेरै बिषयमा सम्झौता गर्दै आएको भन्दै दाहालले प्रश्न गरे, “तर अर्को पक्षले यसलाई हाम्रो कमजोरीका रुपमा लियो । हामीले भन्दाभन्दै पार्टी दर्ता गर्न जाने, देशभरी जुलुस निकाल्न जाने?” आफूहरु छलफलमा रहेकै बेला बिना सल्लाह प्रधानमन्त्रीले एकलौटी निर्णय गर्दै गएको दृष्टान्त पेश गर्दै दाहालले भने, “हिजै देखिहाल्नुभयो, यसरी एकलौटी निर्णयले पार्टी एकतालाई मद्दत गर्दैन।”