प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन आग्रह गरेका छन् । सरकारको मात्रै प्रयासले कोरोना नियन्त्रण गर्न नसकिने भन्दै उनले सबैलाइ सजकता अपनाउनु पर्ने बताए ।
काेराेना संक्रमण बढ्दै गएकाे अवस्थामा बालुवाटारमा जनस्वास्थ्यविज्ञ तथा विभिन्न राजनीतिक दलका नेताहरूसँग गरिएकाे परामर्श बैठकमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका हुन् । जनतामा चेतना जति बढाउन सकिन्छ कोरोनासँग लड्न त्यति सजिलो हुने प्रधानमन्त्री ओलीकाे भनाइ थियाे ।
संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्ने भन्दै प्रधानमन्त्री ओलीले यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध गर्ने परिपाटी अन्त्य गर्नुपर्नेमा जाेडदिए । कहिले लकडाउन किन गरेको भनेर विरोध, कहिले लकडाउन किन खोलेको भनेर विरोध,' प्रधानमन्त्रीको भनाइ थियो ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले समुदायमा कोरोना संक्रमणको स्तर हेरेर निर्णय लिन प्रधानमन्त्रीलाइ सुझाव दिए । लकडाउन गरिहाल्नु भन्दा पहिले हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्ने देउवाकाे भनाइ थियाे ।
कोरोना भाइरसको वर्तमान वस्तुस्थिति सम्बन्धमा प्रधानमन्त्रीले विज्ञहरूसँग परामर्श गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
छलफलमा विज्ञहरूका साथै कांग्रेस सभापति देउवा , जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका दलका नेताहरूकाे सहभागिता रहेकाे थियाे ।