पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदद्वारा पारित गरेको गुरुयोजनाका बारेमा थप छलफल गर्न सरकारले कार्यदल गठन गरेको छ ।
आइतबार सिंहदरबारमा गुरुयोजनाको विरोधमा रहेकाहरुसहितको टोलीसंग छलफल गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गुरुयोजनाका बारेमा थप छलफल गर्न मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको जानकारी दिए।
कार्यदलमा मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव कमलप्रसाद भट्टराई र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम रहेका छन् ।
कार्यदललाई एकमहिनाको समय दिइएको र एकमहिनासम्म उक्त गुरुयोजनालाई यथास्थीतीमा राखिने मन्त्री भट्टराईले बताउनुभयो । कार्यदलले महिनादिन भित्र पुरातत्व विद, संस्कृतिविद, स्थानीय बासिन्दा, सम्पदा तथा संरक्षणकर्मी, इतिहासविदसहितसँग छलफल गरेर प्रतिवेदन बुझाउने उनले जानकारी दिए ।
मन्त्री भट्टराईले प्राचीनता तथा पुरातत्वमाथि कुनै असर पर्न नदिने गरि गुरुयोजना अघि बढाउने बताए। उनले पशुपति क्षेत्रमा मनाइने जात्रा पर्व सञ्चालन गर्न पनि अक्षयकोष खडा गर्ने प्रस्ताव राखेका थिए।
छलफलमा सोही क्षेत्रका संघीय सांसद गगन थापाले गुरुयोजनाको नाममा स्थानीय संस्कृति मास्न नहुने धारणा राखे । उनले अहिलेको अवस्थामा सरकारले अघि सारेको गुरुयोजना स्वीकार्य नहुने बताए ।
त्यस्तै सोही क्षेत्रका प्रदेश सांसद नरोत्तम बैद्यले गुरुयोजनाको छलफलमा कोषले जननिर्वाचितहरुलाई नवोलाएर अवहेलना गरेको भन्दै कोषका बर्तमान पदाधिकारीलाई हटाउन माग गरे ।