नेपाली कांग्रेसले भ्रातृ संस्थाहरुको म्याद छ महिनाका लागि थप गरेको छ।
पार्टी आवद्ध म्याद सकिएका भ्रातृ संघहरुको पदावधि छ महिना थप गरिएको कांग्रेसले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पार्टीको आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने गरी पदावधि छ महिना थप गरिएको विज्ञप्तिमा जनाइएको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ् संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएकोले आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिबाट ६ महिनाका लागि निर्देशानुसार म्याद थपिएको छ।“