नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै सार्वजनिकरुपमा असन्तुष्टि जनाएको छ ।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले सभापति देउवाले पद र प्रलोभन बाँडेर विधान र पार्टीको निर्वाचन आचार संहिताविपरीत काम गरेको आरोप पनि लगाए।
पत्रकार सम्मेलनमा पौडेलले वर्तमान सभापति शेरबहादुर देउवा कामचलाउ सभापति भएको उल्लेख गर्दै कामचलाउले सीमित काम मात्र गर्न पाउने बताए । २०७६ फागुनमै देउवाको पदावधि सकिएको उल्लेख गर्दै पौडेले विधान उल्लंघर गरी अन्धाधुन्ध तरिकाल पद र प्रलोभन बाँडेको आरोप लगाए ।
पौडेलले पार्टी सभापति देउवाले पार्टीको विधान मिच्दै गएकाले त्यसको प्रतिरोध गर्नु परेको भन्दै प्रतिरोध अभियान १४ औं महाधिवेशनसम्म जारी रहने पनि स्पष्ट पारे ।
सम्मेलनमार्फत पौडेल र महामन्त्री कोइरालाले हस्ताक्षर गरेको विरोधपत्रसमेत सार्वजनिक गरेको छ ।
विरोधपत्रमा देउवाले चालेको कदम तत्काल खारेज गर्नसमेत पौडेल पक्षका नेताहरुले माग गरेका छन् । पत्रकार सम्मेलनमा महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत उपस्थित थिए ।