उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेकपा नेता लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री भएको भन्दै पार्टीले सरकारलाई सहयोग गर्ने बताए ।
मन्त्री भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक–थ्रु’ हुनुपर्ने उल्लेख गरे। पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि उनको बिश्वास छ ।
नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने र सहमतिको विकल्प नभएको जिकिर गरे। एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशनपनि सहमतिकै आधारमा सम्पन्न गरिने उनको भनाई छ ।
मन्त्री भट्टले पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा कोरोनाको संक्रमण बढेकोबारे सरकारको पर्याप्त ध्यान गएको नयाँ रणनीतिका साथ अघि बढ्ने स्पष्ट पारे ।