सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का ओलीइतर समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी ओलीले पार्टी स्थायी कमिटी बैठक स्थगित गर्नु पार्टी विधानविपरीत भएको निष्कर्ष निकालेको छ ।
बालुवाटारमा बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता सहभागी स्थायी कमिटीले एकलौटीरुपमा विधि विपरीत ओलीले स्थगित गरेको निष्कर्ष निकालेको हो ।
बैठकले अध्यक्ष ओलीले विधि विपरीत स्थायी कमिटीको बैठक स्थगित गरेको ठहर गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक सुरुअघि अध्यक्ष ओलीलाई बोलाउन पुगेका प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाललाई ओलीले आफूले बैठक स्थगित गरेकाले उपस्थित नहुने जवाफ दिएको प्रवक्ता श्रेष्ठले बताए ।
बैठक यसअघि तोकिएको बैठककै निरन्तरता भएको र एजेन्डामा छलफल नगरी सहमतिका आधारमा आगामी बैठक राख्ने पहल गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय पनि गरेको उनले बताए ।
पार्टी एकतामा देखिएको संकटलाई निकास दिन धैर्य र विवेकपूर्ण तरिकाले अघि बढ्ने निष्कर्षमा पनि आफूहरू पुगेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले हरहालतमा एकताको रक्षा गर्ने पक्षमा रहेको र हतारमा छिटो–छिटो निर्णय गर्न नचाहेको पनि बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा २ जना आमन्त्रितसहित ३१ जना स्थायी कमिटी सदस्य सहभागी थिए । नेकपा स्थायी कमिटीमा अहिले ४४ जना सदस्य छन् । बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकतालाई आघात पर्ने कुनै पनि काम गर्न नहुने धारणा राखेका थिए ।
त्यस्तै उपाध्यक्ष वामदेव गौतमले पार्टी एकतालाई मजबुद् बनाउन आफूले दिएका ६ बुँदे सुझावअनुसार अघि बढ्नु पर्ने बताएका थिए । एक महिनाअघि सुरू भएको पार्टी स्थायी कमिटी बैठकमा अधिकांश स्थायी कमिटी सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि पछिल्लो विवाद चुलिदै गएको हो ।
यसैबीच, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी उपाध्यक्ष वामदेव गौतमसँग छलफल गर्न मंगलबार राति नै उनको निवास भैंसेपाटी पुगे । दुइ नेताबीच राति अबेरसम्म छलफल भएकाे थियाे ।पार्टी भित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्रीकाे याे छलफललाई अर्थपुर्ण रुपमा हेरिएकाे छ ।