पार्टी सभापति शेरबहादुर देउवाको हातबाट नेपाली कांग्रेसको सदस्यता लिएपछि सानेपास्थित मुख्यालयको मिथिला हलमा आयोजित कार्यक्रममा सुनिलबहादुर थापाले कांग्रेससँगको आफ्नो पुरानो सम्बन्ध स्मरण गराए।
राजनीतिक संस्कारमा हुर्केका शालिन स्वभावका थापाले २०१० सालमा आफ्ना पिता सूर्यबहादुर नेपाली कांग्रेस धनकुटाका सभापति रहेको बताए। केन्द्रीय नेताहरुसहित राजीनामा दिएर मंगलबार कांग्रेस प्रबेश गरेका राप्रपाका महामन्त्री थापा सूर्यबहादुरका छोरा हुन्। कोरोना त्रासका कारण कांग्रेस पदाधिकारी, केन्द्रीय सदस्य र पत्रकारहरुलाई मात्र खुला गरिएको मिथिला हलमा अयोजित कार्यक्रममा उनले बीपी र सूर्यबहादुर थापाको नाम पटकपटक लिएका थिए। बीपीले देखाएको बाटोमा आफू अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले आजको घडीमा अपार हर्षित भएको बताए।
२०१० सालदेखि कांग्रेससँग टुटेको सम्बन्ध आजदेखि पुनः फर्किएको उनले बताए। ‘२०१० सालबाट म र मेरो परिवारको नाता कांग्रेससँग टुटेको थियो,’ थापाले भने, ‘२००८ सालमा मेरा बुवा कांग्रेस मोरङको कोषाध्यक्ष, २०१० सालमा धनकुटा सभापति हुनुहुन्थ्यो। त्यसबेलादेखि टुटेको नाता आज जोड्न पाएँ निकै हर्षित छु,’ उनले भने।
थापाले कांग्रेससँग टुटेको साइनो अब राम्रोसँग जोडिने बिश्वास व्यक्त गर्दै लोकतन्त्रको रक्षाका लागि राप्रपाका अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि कांग्रेसमा जोडिन उनले आह्वान गरे। उनले अन्य जिल्लाबाट कांग्रेसमा जोडिन चाहेका राप्रपाका नेता कार्यकर्ताहरुलाई जिल्लास्तरमै कार्यक्रम गरेर प्रबेश गराउने तयारी भइरहेको बताए।
उनले आफू कसैको भाग खोस्नका लागि कांग्रेसमा प्रबेश नगरेको प्रष्ट पारे। बर्तमान सरकारका कारण नेपालको बिदेश नीति सन्तुलन कमजोर भएको र समग्र लोकतान्त्रिक पद्धतिमाथि नै प्रहार हुन थालेको भन्दै थापाले लोकतान्त्रिक पद्धतिलाई थप उर्जा दिनका लागि कांग्रेस जस्तो लोकतान्त्रिक दलमा जोडिएर आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता जनाए।
पार्टी प्रबेश कार्यक्रममा सभापति देउवाले थापालाई योग्य व्यक्तिको संज्ञा दिदैं लोकतान्त्रिक शासन व्यबस्था संकटमा परेका बेला लोकतन्त्रबादी शक्तिहरु एक ठाउँमा आउनुको बिकल्प नभएको बताए। उनले थापालाई सहमहामन्त्रीको जिम्मेवारी दिइने बताए। बरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपाको प्रतिगमनकारी बाटोमा असहमत जनाएर नै थापाले कांग्रेस रोजेको बताए।
नवप्रवेशीलाई स्वागत गर्दै उपसभापति विमलेन्द्र निधिले सभापति देउवाले सुनिल थापा लगायतलाई पार्टीमा ल्याउन आफूलाई जिम्मेवारी दिएअनुसार काम फत्ते गरेको बताए।
‘राप्रपा एकीकृत हुनुअगाडिसम्म पशुपति शम्सेर जवरालगायत नेतासँग पनि छलफल भएको स्मरण गर्दै उपसभापति निधिले त्यो सफल हुन नसकेको सुनाए। तरक सुनिल थापालगायतका नेताहरु भने राजतन्त्रको एजेन्डा छाडेर गणतन्त्रका एजेन्डामा कांग्रेसँग सहकार्य गर्न आइपुगेको उल्लेख गरे।
पार्टी प्रबेश कार्यक्रममा सभापति देउवाले रामकृष्ण भट्टराई, बिष्णुबिक्रम थापा, बाबुराम बस्नेत, बिष्णुलाल यादब, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान बिश्वकर्मा, रामपदारत साह,डा. सुरेश बस्नेत, प्रतिमा राणा, नारायण राउतलगायतलाई कांग्रेसको सदस्यता प्रदान गरेका थिए।