प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान् श्रीरामको जन्मस्थानका बारेमा अभिव्यक्ति दिएपछि ठोरी र माडीका जनप्रतिनिधि भन्छन् अब भगवान् राम नेपालको ज्वाइँ नभएर छोरा भएको प्रष्ट भएको छ ।
सीताकालीन सभ्यता र संस्कृतिसँग मेल खाने अनेकौँ सामान भेटिपछि ठोरीवासीले भगवान् रामको जन्मभूमि उत्तर प्रदेशको अयोध्यामा नभएर पश्चिमी पर्साको अति दुर्गम गाउँपालिका ठोरीमा भएको प्रमाण जुटाउनमा व्यस्त देखिन्छ । उनीहरुले रामायणकालीन घटनासँग जोडिएका ऐतिहासिक तथ्य सङ्कलनमा तदारुकता देखाउनुपर्ने चर्चा गर्न थालेका छन् ।
अयोध्या नेपालमै पर्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेपछि सो क्षेत्रसँग जोडिएका जनप्रतिनिधि अहिले उत्साही मात्र होइन, अब भगवान् राम ज्वाइँ नभएर नेपालको छोरा भएको भन्दै खुृशी व्यक्त गर्न थालेका छन् । विसं २०३४ अगाडि ठोरी गाउँ चितवनकै एक हिस्सा थियो, जसलाई ठोरीमाडी भनिन्थ्यो । राज्यबाट सधैँ उपेक्षाको शिकार हुँदै आएको ठोरी प्रधानमन्त्री ओलीको अभिव्यक्तिका कारण एकाएक चर्चामा आएका छन् ।
प्रधानमन्त्री ओलीको अभिव्यक्ति तथ्यकै आधारमा भएको भन्दै ठोरी र माडीका जनप्रतिनिधिले भगवान् रामको जन्म यहीँ भएको भन्ने तर्क अघि सार्दै आएका छन् । भगवान् राम र सीतासँग जोडिएका धार्मिक तथा ऐतिहासिक महत्वका ठाउँ ठोरी र माडीमा रहेको तर्क उनीहरूले अघि सारेका छन् । उनीहरू भन्छन्, “राम र सीतासँग जोडिएका यस क्षेत्रका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक स्थल यहाँ रहेको छ । त्यसैले यस ठाउँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक अध्ययन तथा खोज हुनुपर्नेमा जोड दिएका छन् ।”
भगवान् रामको तपोभूमि ठोरीको रामनगर भन्ने ठाउँ पनि यही नै रहेको छ । रामको बासस्थान यहाँ भएकाले सो ठाउँलाई रामनगर भन्ने गरेको किंवदन्ती रहिआएको छ । रामनगरको ठुटेखोला पारी सोमेश्वर पहाडको काखमा सीता गुफासमेत रहेकाले अयोध्यापुरी यही हुने यथेष्ट प्रमाण छ । सोमेश्वर पहाडको शिखरले नेपाल–भारतको सीमा छुट्याउने काम गरेको छ ।
सोमेश्वर पहाडको उत्तरतर्फ नेपालपट्टिको भागमा सीता गुफा अवस्थित छ । जुन अहिले ठोरी गाउँपालिका– २ मा पर्दछ । पहाडको शिखरको दक्षिणपट्टि भारतको वाल्मीकि टाइगर्स रिजर्भको जङ्गल रहेको छ । उक्त भारततर्फको जङ्गल नेपालको अयोध्यासँग जोडिएकाले त्यो ठाउँको नाम वाल्मीकि टाइगर्स रिजर्भ राखिएको हुनसक्ने तर्क ठोरीका बासिन्दाको छ । ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले ढिलै भए पनि प्रधानमन्त्री ओलीले अयोध्या ठोरीमा अवस्थित छ भनेर बताउनु स्वागतयोग्य भएको बताए ।
वाल्मिकी आश्रम चितवनको माडी नगरपालिका–१ मा पर्दछ । सोमेश्वर पहाडको किनारमा सीतागुफा अवस्थित छ भने सोही पहाडको पश्चिमतर्फ चितवनको माडीमा अयोध्या अर्थात् अयोध्यापुरी रहेको छ । रामायणकालीन घटनासँग जोडिएका पात्र सोमेश्वर पहाडकै आसपासमा रहेकाले यसको खोजी तथा अनुसन्धान आवश्यक रहेको ठोरीवासीको भनाइ छ । इतिहासको कालखण्डमा अहिलेसम्म ओझेलमा रहेकोे सीता गुफा प्रधानमन्त्रीको अभिव्यक्तिसँगै एकाएक चर्चामा आएको छ ।रासस