स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले कोरोना भाइरसको महामारी विश्वका विभिन्न देशमा फैलिने क्रममा रहेकाले तत्काल स्वास्थ्य सामग्री किन्नु परेको स्पष्टीकरण दिएका छन्।
सिंहदरबारमा मंगलबार बसेको सार्वजनिक लेखा समिति बैठकमा उनीहरुले कोरानाको संक्रमण बढ्दै गएको अवस्था र तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै तत्काल स्वास्थ्य सामग्री किन्नु परेको स्पष्टीकरण दिएका हुन्।
बैठकमा तत्कालीन स्वास्थ्य सचिव यादव कोइरालाले खरिद प्रक्रियामा मन्त्रालयका १२ औँ तहका डा. रोशन पोखरेलसहितको टोली संलग्न रहेको पनि बताए। उनले तत्काल सामान खरिद नगरेको भए परीक्षण सामाग्री नै अभाव हुने देखिएको तर्क गरे।
बैठकमा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठले मन्त्रीपरिषद्ले नै सामान खरिदका लागि स्वीकृती दिएपछि आफूहरुले प्रकृया अघि बढाएको बताए।
बैठकमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले औषधि खरिद आफ्नो कुनै सहभागीता नरहेको तर्क गरे।
समिति सदस्यहरुले लागत अनुमान नेपाली रुपैयाँमा गरेर खरिद सम्झौता डलरमा गरेको भन्दै प्रश्न गरेका थिए । छलफलमा सहभागी नै नभएको समूहलाई खरिदको जिम्मा दिनुको कारण पनि सोधेका थिए।
ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनलसँग भएको विवादास्पद सम्झौताका लागि विज्ञ सल्लाहकार डा. कार्कीकै नेतृत्वमा रहेको वार्ता टोलीले सिफारिस गरेको थियो। त्यसअनुसार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निर्णय गरेपछि १२ चैतमा ओम्नीसँग औषधि खरिदबारे सम्झौता भएको थियो। त्यो विवादास्पद सम्झौताअनुसार ओम्नी समूहले केही स्वास्थ्य सामग्री ल्याएको थियो। तर सम्झौताअनुसार अरु सामान ल्याउन नसकेको भन्दै स्वास्थ्य सेवा विभागले १९ चैतमा ओम्नीसँगको सम्झौता रद्द गरेको घोषणा गरेको थियो। स्वास्थ्य सामग्री खरिदमा प्रश्न उठेपछि संसदको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको छ।