जब बर्खा लाग्न थाल्दछ अनि पहाड र तराईका मानिसहरुमा बाढी, पहिरो र ढुवानको चिन्ताले सताउन थाल्दछ ।
यस्तो किसिमको त्रास एक वर्ष मात्र होइन बाचुन्जेलसम्म त्यस क्षेत्रका मानिसमा रहिनै रहन्छ ।
केही आर्थिक स्थिति राम्रो हुनेहरु त ढिलो चाँडो अलि सुगम ठाउँमा बसाई सरिहाल्दछन् । बाँकी रहेका मानिसहरुमा भने कुन चाँही बर्खाकोे पहिरोमा ज्यान जाने हो भन्ने त्रास हुने गर्दछ ।
सरकार र संसदमा बाढी पहिरो र ढुवानका कुरा सधै जसो चर्काे स्वरमा उठ्ने गर्दछ तर कहिल्यै त्यसको उचित व्यवस्थापनमा भने ध्यान दिएन ।
पटक पटक बाढी पहिरोको जोखिम भएका बस्तिलाई अन्यत्र सुरक्षित स्थानमा सार्ने कुरा उठे पनि त्यसले मूर्तरुप लिन सकेको छैन । यो सरकारको अत्यन्तै गैरजिम्मेवारी र लापरबाही हो ।
वर्षेनी सयौ व्यक्तिले बाढी पहिरोमा ज्यान गुमाउने गरेका छन् ।यस पटक पनि असार नसकिदै ५० जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने त्यतिकै संख्यामा हराइरहेका छन् । अझ कतिजनाले ज्यान गुमाउने हो त्यसको टुंगो छैन ।
तपाई कतै पहाडतिर जानु भयो भने त्यहाका मानिसले दैनिक भोग्ने गरेका कष्ठकर जीवन देख्नु हुनेछ । पहराको चेपमा बनेका घरहरु र घर अगाडिको पहिरो देख्दा मनै काटिन्छ ।सरकार साच्चिकै जनताको हित चाहन्छ भने त्यस्ता ठाउँमा जीवन निर्वाह गरेर बसेकाहरुलाई तत्काल उद्धार गरेर समथर ठाउँमा स्थानान्तरण गर्न ढिला गर्नु हुँदैन ।
सरकारको लागि यो कुनै ठूलो समस्या होइन । सरसर्ती हिसाब गर्ने हो भने पनि यसरी जोखिम मोलेर बसेकाहरुको संख्या ५० हजारको हाराहारीमा होला भन्ने अनुमान गर्न सकिन्छ ।
धेरै पहिले लमजुङको विकट गाउँमा यस्तै गरी पहिरोले गाउँनै धरापमा पर्न थालेपछि तत्कालिन सरकारले नवलपरासीमा जंगल फडानी गरे बस्ती बसाएको थियो । अहिले त्यहाँका मानिसहरु यसरी नसरेको भए मरिसकिन्थ्यो होला भन्छन् ।
त्यसो त तराईमा भने डुबान र बाढीकै पिरलो छ । राति कतिखेर घरसँगै बग्ने हो भन्ने त्यस क्षेत्रका मानिसमा चिन्ता हुने गर्दछ । भारतले बर्खाको पानी थेक्न ठाउँठाउँमा डयाम बनाएकाले पनि तराईमा ढुवान हुने गरेको हो । सप्तकोशीको व्यारेज पनि भारतकै हितका लागि निर्माण गरिएको हो । जुन बाँधको फाइदा नेपालले भन्दा भारतले उठाइरहेको छ ।
नेपालको पहाडदेखि बगेको भेलले बिहारमा हुने डुवानलाई छेक्न भारतले चलाखीपूर्ण रुपमा सप्तकोशीमा बाँध बनाएको कुरा सबैलाई छर्लङगैछ । बाँधको ढोका समयमै नखोल्दा सिराह,सप्तरीका दर्जनौ गाउँ बस्ती डुवानमा पर्ने गरेको छ ।
अहिले यसैगरी तराईका बिभिन्न ठाउँमा भारतले सडक र रेलको लिकको नाममा माटो उठाएर डयाम जस्तो बनाइरहेको छ । पानीको निकास बन्द नगर्ने हो भने तराईमा डुबानको समस्या खासै नहुने बिज्ञहरु बताउँछन् ।