सत्तारुढ नेकपाभित्र विवाद बढिरहेका बेला चिनियाँ राजदूत होउ यान्छीको सक्रियता निक्कै बढेको छ।
चिनियाँ राजदूत यान्छीको बढ्दो सक्रियतालाई कतिपयले नेपालको आन्तरिक मामिलामा चीनले अनावश्यक चासो राखेको भन्दै व्यापक आलोचना भएको छ।
राजदूत यान्छीको सक्रियताको आलोचना भइरहेका बेला मंगलबार उनले नेकपाका नेता झलनाथ खनालसँग भेटेकी छन्। भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन्। खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो। भेटमा राजदूत यान्छीले एकताबद्ध भएर अघि बढ्न नेता खनाललाई आग्रह गरेको बताइएको छ।
नेकपाभित्रको विवाद चर्किएका बेला यसअघि उनले बरिष्ठ नेता माधव नेपालको घर कोटेश्वर गएर विकसित राजनीतिक घटनाक्रममा चासो राखेकी थिइन्।
पछिल्लो समय नेकपा स्थायी कमिटीको बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने अडान राखेपछि बिबाद बढेको हो। ओली भने कुनै पनि पद छाड्न तयार छैनन्।