आन्तरिक बिबाद चुलिएपछि पटक पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमति हुन नसक्दा स्थायी कमिटी बैठक अनिश्चित भएको हो।
स्थायी कमिटी बैठक गत बिहिबारदेखि रोकिएका छ। अध्यक्षद्धयबीच पटक पटक अनौपचारिक छलफल भए पनि दुबै आ आफ्नो अडानमा रहेका कारण औपचारिक बैठक बस्न नसकेको हो।
अध्यक्षले आइतबारको बैठकमा दोस्रो तहका नेताहरूलाई राखेर सहमतिको साझा विन्दु खोज्ने प्रयास गरेको भए पनि त्यसले कुनै आकार भने लिइसकेको छैन। आइतबार ओलीका तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रचण्डका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा छलफलमा सहभागी थिए।
प्रधानमन्त्री ओली अध्यक्ष दाहालसँग सहमति गरेर आफू बलियो भएपछि मात्र स्थायी कमिटी बैठक बोलाउने पक्षमा छन्। अर्कातिर माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु भने तत्काल स्थायी कमिटीमात्र होइन, केन्द्रीय कमिटीको बैठक बोलाउन दबाब दिदै आएका छन्। त्यसैमा साथ दिदैं कतिपय केन्द्रीय सदस्यहरुले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउनका लागि हस्ताक्षर अभियान नै चलाएका छन्।
दाहाल, नेपाल, खनाल लगायतका नेताहरु एजेण्डामाथि छलफल गरेर बैठकले गर्ने निर्णयका आधारमा अघि बढ्नुपर्ने पक्षमा छन्। सचिवलय, स्थायी कमिटी र केन्द्रीय कमिटी तीनवटै निकायमा ओली अल्पमतमा रहेको र बैठक बसी बहुमतका आधारमा उनलाई दुबै पदबाट हटाउन सकिनेमा ओली इतर खेमा ढुक्क छ। ओली भने यो कुरा बुझेर नै दाहालसँग सहमति गरी सकेसम्म कुनै पनि बैठक फेस गर्नु नपरोस् भन्नेमा छन्।