नेपाली कांग्रसका सांसद सञ्जय गौतमले सांसद विकास कोषको रकम कोरोना परीक्षणका लागि पीसीआर मेसिन लगायत उपकरण खरिदका लागि दिने निर्णय गरेका छन्।
बर्दिया क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पूर्बमन्त्री गौतमले बर्दिया जिल्लाको लागि कोरोना परीक्षण गर्न छुट्टै मेसिन आवश्यक रहेको भन्दै करिब १ करोड ३२ लाख रुपैयाँ रकम उपकरण खरिद गर्न दिने निर्णय गरेका हुन्।
विश्वभरी फैलिएको कोरोना महामारीको कारण नेपालमा पनि त्यसको प्रभाव परेको र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम प्रभावित भएपछि १ करोड ३१ लाख ९० हजार ८८ रुपैयाँको विभिन्न योजनाहरुको ठेक्का सम्झौता हुन नसकेपछि उनले त्यो रकम मेसिन किन्न रकमान्तर गर्न जिल्ला समन्वय समिति बर्दियालाई अनुरोध गरेका छन्।
‘कोभिड १९ रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार गर्ने सन्दर्भमा बर्दिया जिल्लाको लागि एक आफ्नै पीसीआर टेष्ट प्रयोगशाला आवश्यक भएकोले पीसीआर टेस्ट मेसिन तथा आवश्यक उपकरणहरु खरिद गर्न चालु आवमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत बर्दिया क्षेत्र नम्बर १ को विभिन्न पालिकामा विनियोजित भई लकडाउनका कारण योजना सम्पन्न गर्न सकिएन,’ सांसद गौतमले जिल्ला समन्वय समिति बर्दियालाई योजना संसोधन तथा रकमान्तर गर्नका लागि पठाएको पत्रमा भनिएको छ,‘लकडाउनका कारण योजनाहरु र ठेक्का प्रक्रियाबाट बचत हुन आएको रकमहरु यसै प्रयोजनको लागि खर्च गर्नु आम बर्दियाली जनताका लागि मनासिव हुने देखिएको।’
सांसद गौतमले जिल्ला विपद व्यवस्थापन समितिको बैठकको निर्णय पनि पीसीआर टेस्ट मेसिन ल्याउने बारे भएको उल्लेख गर्दै त्यही अनुरुप १ करोड ३१ लाख ९० हजार ८८ रुपैयाँ गुलरिया नगरपालिकाको प्रकोप व्यवस्थापन कोष मार्फत खर्च गर्न रकम दिने निर्णय गरेका हुन्।