जिल्लामा क्रियाशील पत्रकार आस गुरुङमाथि जनप्रतिनिधिले हातपात गरेका छन्। समाचार प्रकाशनको विषयलाई लिएर बेसीशहर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष गोविन्द बस्नेतले पत्रकार गुरुङमाथि हातपात गरेका हुन्।
नेपाल प्रेस युनियन लमजुङका उपाध्यक्षसमेत रहेका खोज पत्रकार गुरुङलाई समाचार प्रकाशनको विषयलाई लिएर वडा अध्यक्ष बस्नेतले सार्वजनिक स्थलमै हातपात गर्ने र अश्लिल शब्द प्रयोग गर्दै धम्कीपूर्ण भाषामा गालीगलौज गरेको पीडित पत्रकार गुरुङले बताए।
कामको शिलसिलामा सदरमुकाम बेसीशहर–८, नारायणस्थानमा रहेको जनप्रेमी छापाखानामा बसिरहेको अवस्थामा वडा अध्यक्ष बस्नेतले बाहिर बोलाएर पत्रकार गुरुङमाथि अभद्र व्यवहार गरेका हुन्। आफु माथि हातपात र अभद्र व्यवहार भएको भन्दै पत्रकार गुरुङले बस्नेत विरुद्ध प्रहरीमा उजुरी दिएका छन्।
यसैवीच, पत्रकार गुरुङमाथि भएको अभद्र व्यवहारप्रति नेपाल पत्रकार महासंघ लमजुङ शाखा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लमजुङ शाखा र नेपाल प्रेस युनियन लमजुङ शाखाले भत्र्सना गरेका छन्।
प्रकाशित समाचार विषयमा असहमती भए त्यसका लागि कानुनी प्रक्रिया अपनाउन सकिने बाटो अपनाउनुको साटो जिम्मेबार जनप्रतिनिधबाटै यस्तो गैरजिम्मेबार शैलीबाट पत्रकारमाथि आक्रमणको प्रयास गर्नु खेदजनक भएको महासंघको विज्ञप्तीमा उल्लेख छ।
महासंघ जिल्ला शाखा सचिव सन्देश पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको छानविन गरी दोषिमाथि कडा कानुनी कारवाहीका लागी सम्वन्धित निकायसँग आग्रह गरेको छ ।
त्यस्तै, नेपाल आदिवासी जनजाति पत्रकार महांसघ लमजुङ शाखा र नेपाल प्रेस युनियन लमजुङ शाखाले पनि घटनाको विरोध गरेका छन्।