राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर फर्के लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट अचानक संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गराए।
स्थायी कमिटी बैठकका लागि बालुवाटारमा पर्खेर बसेका नेताहरुलाई आश्चर्यमा पार्दै ओली यस्तो निर्णय लिन किन पुगे ? संसद अधिबेशन अन्त्य गर्न सभामुखसँग सामान्य परामर्श समेत गरिएको छैन। बुधबार राति ललितपुरको अँगेनो रेष्टुरेण्टमा प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले ओलीबिरुद्ध मोर्चाबन्दी गरेपछि उनी सशंकित भएका थिए। त्यसपछि बिहिबार बिहान प्रचण्ड निवासमा आफ्ना बिश्वासपात्रलाई पठाएर आत्मालोचना गर्ने ओलीको प्रस्ताब ठाडै अस्वीकार भएको थियो।
प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा गर्न बाध्य बनाउने दाहाल नेपाल रणनीति बुझेपछि प्रधानमन्त्री ओलीले संसद अधिबेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गराएका हुन्। संसद अधिबेशन अन्त्य गरेर पार्टी फुटाउन सहज हुने गरी पुनः अध्यादेश ल्याउने ओलीको तयारी रहेको नेकपाकै कतिपय नेताहरुले आशंका गरेका छन्। यसअघि बैशाख पहिलो साता पार्टीभित्रबाट अप्ठेरो अबस्था आएपछि ओली सरकारले बैशाख ८ गते संवैधानिक परिषद् गठन र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेको थियो।
नेपाली कांग्रेसलगायतका बिपक्षी दलहरु र नागरिक समाजमात्र होइन, सत्तासीन नेकपाकै नेताहरुको बिरोधका कारण चार दिनपछि बैशाख १२ मा अध्यादेश खारेज गरिएको थियो। अहिले पुनः अध्यादेश ल्याउनका लागि संसद अधिबेशन अन्त्य गरेको कतिपयको आशंका छ।