बुधबार राति ललितपुरको झम्सिखेलमा भएको इतर पक्षीय भेलामा सत्तासीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने सहमति भएको छ।
भेलामा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सम्मिलित बैठकले ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको हो।
झम्सिखेल बैठकपछि बालुवाटारमा भने खैलाबैला शुरु भएको छ। झम्सिखेल बैठकमा सहभागी उनीहरु सबै छ जना सचिवालय सदस्य हुन्। ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने झम्सिखेल बैठकको निष्कर्ष छ। पछिल्लो समय ओली निकट मानिएका गृहमन्त्री थापासमेत बुधबारको भेलामा सहभागी भएर ओलीबिरुद्ध अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। भेलामा थापाको उपस्थितिलाई नेकपाभित्र अर्थपूर्ण रुपमा हेरिएको छ।
बैठकमा सचिवालयका सदस्यहरुसहित प्रचण्ड र माधव नेपाल पक्षीय स्थायी समिति सदस्यहरु पनि सहभागी थिए। जारी स्थायी कमिटी बैठकमा सरकार र पार्टी सञ्चालनमा ओलीको शैलीप्रति विरोध जनाउँदै प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताले दुबै पद छोड्न दबाब दिँदै आएका छन्।
आइतबार ओलीले आफ्नो सरकार ढाल्न दिल्ली र पार्टीभित्रकै केही नेता लागिपरेको अभिव्यक्ति दिएका थिए भने मंगलवारको बैठकमा अर्का अध्यक्ष दाहाल लगायतका नेताहरुले अरुले नभई आफूहरुले नै राजीनामा मागेको भनेर खुलस्त भनेका थिए।