नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान महिला सशक्तीकरण फोरमको तत्वावधानमा मानसिक स्वास्थ्यका सम्बन्धमा कार्यक्रम सम्पन्न भयाे।
कोरोनाको त्रास, लक्डाउनका समयमा परेको मानसिक तनाव, बाल स्वास्थ्य तथा मातृ शिशु र प्रजननमा परेको असर र बढ्दै गरेको आत्महत्याका घटना आदिलाई लिएर छलफलको गरिएको हो।
प्रतिष्ठानका प्रमुखसमेत रहेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले शरीर स्वस्थ रहन मन स्वस्थ रहनु पर्ने र प्रतिष्ठानले राजनीतिक मात्र नभएर सामाजिक विषयमा समेत विचार विनिमय गर्ने स्पष्ट पारे।
कार्यक्रममा मनोविद् डा. छोरी महर्जनले मानसिक स्वास्थ्य र मानसिक रोगका सम्बन्धमा अवधारणा पत्र प्रस्तुत गरेकी थिइन्। लकडाउनका समयमा आम मानिसमा बढिरहेको भय, तनाव, विकास भएको निराशा र जीवनप्रतिको उदासिनता, जीवनप्रतिको व्यामोह आदि कारणहरु, तिनले उत्पन्न गर्ने समस्या र निराकरण आदिका विषयमा डा. महर्जनले विचार व्यक्त गरेकी थिइन्।
प्रतिष्ठानका सदस्य एवम् महिला सशक्तीकरण फोरमका संयोजक डा. आरजु देउवाले मनोविज्ञानका विविध आयामबारे चर्चा गरेकी थिइन्। उनले यस विषयमा निरन्तर रुपमा आम नागरिकमा चेतना प्रवाह गर्ने अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताइन्।
कार्यपत्रमाथि कांग्रेस केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख ईश्वरी न्यौपाने र नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले टिप्पणी गरेका थिए। कांग्रेसका नेताहरु, जिल्ला सभापतिहरु, भ्रातृ संस्थाका व्यक्तित्वहरु सहितको सहभागिता रहेको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले प्रतिष्ठानबाट आगामी दिनमा यस्ता कार्यक्रमहरु गर्दै जाने जानकारी गराए।