संसदमा प्रमुख दलहरुसँग सामान्य सल्लाहसमेत नगरी सभामुख अग्नी सापकोटाले संसद बैठक असार १७ गतेका लागि बोलाएका छन्।
पूर्व निर्धारित कार्यक्रम अनुसार अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता १६ असारभित्र संसद्बाट अनुमोदन गराइसक्नु पर्नेछ। सभामुख सापकोटाले एमसीसी छल्नकै लागि एमसीसी सम्झौता गर्ने समयसीमा सकिएपछि संसद वैठक डाकेका हुन्। सरकारसँग एक पटक नसोधी सभामुखले यसो गरेपछि प्रधानमन्त्री केपी ओली रुष्ट भएका छन्। ओली एमसीसी पारित गराउने पक्षमा रहेको बुझेपछि सभामुख सापकोटाले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा संसद बैठक डाकेका हुन्।
नेकपाभित्र खासगरी पूर्ब माओवादी समूह एमसीसी पारित गराउने पक्षमा छैन। त्यसैले प्रचण्डको संकेत पाएर नै सभामुख सापकोटाले आफूखुसी बैठक डाकेका हुन्।
बिगतका सहमति पालनामा अनिच्छुक देखिएपछि एमसीसीको यहि मुद्धा फेल गराएर प्रधानमन्त्री ओललाई असफल बनाउने अध्यक्ष दाहालको रणनीति छ। ओली अल्पमतमा पर्ने सम्भावना बढेपछि प्रचण्ड सहितका नेकपाका नेताहरुले एक व्यक्ति एक पदको मुद्धा अघि सारेका छन्।
बालुवाटारमा बुधबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले ओलीमा अहंकार बढेको बताए। उनले आलोपालो प्रधानमन्त्रीको सहमतिबाट पछाडि हटेर आफूले गल्ती गरेको महशुस हुन थालेको बताए। एमसीसी सम्झौता अनुमोदनका विषयमा पार्टीमा छलफल भइरहेका बेला सभामुखले सरकारसँग सल्लाहै नगरी बैठक सारेपछि प्रधानमन्त्री खुबै रिसाएको वालुवाटार स्रोतले बताएको छ। तर प्रचण्डको आड पाएका सापकोटा ओलीसँग गलेनन् ।
आफ्नै दलभित्र असहयोग खेपिरहेका प्रधानमन्त्री ओलीले एमसीसी अनुमोदनको मिति सकिनै लाग्दा यो परियोजना नविकरणको लागि अनुरोध गर्दै अमेरिकी सरकारलाई पत्राचार गराएका छन्। अमेरिकी विदेशमन्त्रीसँगको टेलिफोन संवाद पनि यहि सिलसिलामा भएको अनुमान नेकपा वृत्तमा छ