नेकपाका दुई अध्यक्षबीच फेरि टकराब सुरू भएकाे छ ।बुधबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु पार्टीको स्थायी कमिटीकाे बैठकमा उनीहरूबीचकाे व्यवहार र शैलीले छर्लङग भएकाे हाे ।
बैठकमा अध्यक्षद्वयले मन्तव्यको अधिकांश समय एकअर्कासँग गुनासो गरेरै बिताए । पुराना सहमति, समझदारी तथा पार्टी र सरकारका काम सम्झिए, आपसमा समन्वय नहुँदा पार्टी र सरकार झन ओरालो लागिरहेको बताए ।
सरकार गठन भएयताका साढे दुई वर्ष प्रधानमन्त्री ओली र उनीवरिपरिका केही व्यक्तिको तजबिजमा मात्रै सरकार चलिरहेको र त्यसले पार्टी र सरकार दुवैको बदनाम भइरहेको गुनासो नेकपाभित्रै छ ।
प्रधानमन्त्री ओलीले भने सरकारले व्यापक काम गरिरहेको बताए । पार्टीभित्रैबाट सरकारको बदनाम गरिएको उनको गुनासो छ । ‘सरकारले जुन काम थाले पनि भ्रष्टाचार भयो भनेर प्रचार गरिएको’ उनको भनाइ थियो ।
ओली नेतृत्वको सरकार गठन भएयता पार्टीको सल्लाहबिनै सरकार चलाएको, एकलौटी निर्णय गरेको र केही व्यापारिक घरानासँग विवादास्पद साँठगाँठ गरेको लगायत विषयमा पार्टीभित्रै र बाहिरबाट पनि व्यापक आलोचना भइरहेको छ ।
पछिल्लोपटक स्वाथ्य सामग्री खरिदमा नेपाली सेनाको संलग्नता, स्वास्थ्य सेवा विभागले स्वास्थ्य उपकरण ल्याउँदा विवादास्पद ओम्नी कम्पनीलाई दिएको ठेक्का, यति समूहसँग सरकारको निकटतालगायत विषयले सरकारको विवादास्पद छवि उजागर गरेको टिप्पणी नेकपाभित्रै छ ।
स्थायी कमिटीको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका कामको फेहरिस्त सुनाउँदा वरिष्ठ नेता माधव नेपालले हस्तक्षेप गरेर भने, ‘सरकारले धेरै काम गरेको छ भनेर बखान नगरे हुन्छ, सडकका खाल्डाखुल्डी हेर्ने हो भने मेरै निर्वाचन क्षेत्र साँखुमा जाँदा हुन्छ ।’