सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेकाे छ।
कोरोना महामारी र विभिन्न कारणवश स्थगन हुँदै आएको सो बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्य र अन्य कार्यसूची तय गरिएको छ ।
नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार सरकारको काम (कोभिड रोकथाम र उपचार तथा नेपालको सीमा समस्या समाधान र अन्य), पार्टी एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पाेरेशन सहायता (एमसिसी) र विविध कार्यसूची तय गरिएको छ । एमसिसीलाई अनुमोदन गराउने विषयमा सो पार्टीभित्र विवाद देखिँदै आएको छ ।अाजकाे बैठकले दिने निर्देशन अनुसार संसदीय दलले निर्णय गर्नेछ।
एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदै छ। सोही दिन दिउँसो संसद बैठक बस्दैछ। संसदले यो सम्झौता पारित नगरे र म्याद पनि नथपिएमा स्वतः निश्क्रिय हुनेछ। साथै अमेरिकाले नेपाललाई दिने भनिएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग पनि रोकिने छ।
नेकपाभित्र एमसीसीको पक्षमा एकमत नभएपछि सुझाव दिन भलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदलको बहुमतले एमसीसी सम्झौता हुबहु पारित गर्न नमिल्ने मतसहितको प्रतिवेदन दिएको छ।