नेपाली काँग्रेसले सोलुखुम्बुमा विकास निर्माणमा भएको भ्रष्टाचार तथा राहत वितरणमा भएको अनियमितता र पक्षपातपूर्ण व्यवहारको शान्तिपूर्ण विरोध गर्ने पार्टीका नेता कार्यकर्तामाथि कुटपिट एवं दुव्र्यवहार गरिएको भन्दै आपत्ति जनाएको छ।
सोलुखुम्बुका सोलुदूधकुण्ड नगरपालिका, लिखुपिके, थुलुक, खुम्बु पासाङ्ग ल्हामु, नेचा सल्यान गाउँपालिका र सो गाउँपालिकाअन्तर्गतका जलविद्युत् आयोजना र विकास निर्माणमा देखिएको भ्रष्टाचार र अनियमितताको विरोध गर्दा उल्टै कुटपिट गर्ने र दुव्र्यवहार गरिएको र त्यसविरुद्ध प्रहरी प्रशासनले उजुरीसमेत दर्ता गर्न नमानेको काँग्रेसले जनाएको छ।
काँग्रेस केन्द्रीय कार्यालयले मंगलबार एक विज्ञप्तिमार्फत सरकारको निर्देशनमा जिल्लामा कार्यरत कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिहरुले समेत काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई अनाहकमा दुःख दिने, झुठ्ठा मुद्दामा फसाउने, कुटपिट एवं दुव्र्यवहार गर्ने गरेको आरोप लगाएको छ।
त्यस्ता अवाञ्छित र अमर्यादित घटनालाई तत्काल रोकी आम नागरिकले संविधानको मर्म र भावनाअनुरुप स्वतन्त्र र निष्पक्ष रुपमा कानुनी अधिकारको उपभोग गर्न पाउने वातावरण निर्माण गर्न तथा घटनाको छानबिन गरी कुटपिटमा संलग्न दोषीलाई कानुनी कारवाही गर्न काँग्रेसले सरकारसँग माग गरेको छ।