नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषयको विरोध गर्दै प्रदेश नम्बर २ को राजधानी जनकपुरधाममा सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ।
संसदको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा सहमति जुटाएको पर्सिपल्ट प्रधानमन्त्रीको पुत्ला जलाइएको हो। यसअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सात बर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो।
स्थानीय भानु चोकमा जम्मा भएका जनता समाजवादी पार्टी निकट महिला तथा युवाले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्। पुत्ला जलाउनुअघि महिलाहरुले सडक जाम गरेर प्रधानमन्त्रीविरुद्व नाराबाजी गरेका थिए।