नागरिकता ऐन संसोधन विद्येयकप्रति असन्तुष्ट जनाउँदै नेपाली कांग्रेस र उसका भातृसंस्थाहरुले आज प्रदेश नंबर २ का ८ वटै जिल्लामा बिरोध प्रदर्शन गरेका छन्।
भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने सत्तारुढ नेकपाले अघि सारेको प्रावधानको बिरोधमा कांग्रेसजनहरु प्रदर्शनमा उत्रिएका हुन्।
नेपाल तरुण दलको अगुवाईमा धनुषामा बृहत प्रदर्शन गरिएको छ। पार्टी कार्यालयबाट शुरु भएको बिरोध प्रदर्शन विद्यापति चोक, रामानन्द चोक हुदै शिबचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई पार्टी सभापति महेश शंकर गिरि, प्रदेश सांसद रामसरोज यादब लगायतले सम्बोधन गरेका थिए। उनीहरुले नागरिकता सम्बन्धी बिधेयक फिर्ता नगरेमा कडा आन्दोेलन गर्ने चेतावनी दिएका छन्।
यसैगरी, नेपाल महिला संघको अगुवाईमा वीरगञ्जमा प्रदर्शन गरिएको छ। प्रदर्शनमा नेपाली कांग्रेस, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ लगायतका भातृ संस्थाका सदस्यहरु सभागी थिए। सहभागीहरुले ‘महिलालाई हेप्न पाइदैन, हत्यारा सरकार चाहिदैन’ जस्ता नारा लगाएका थिए। घण्टाघरमा भेला भएका प्रदर्शनकारीहरुले ओली सरकारविरुद्ध चर्का नारा लगाएका थिए। कोणसभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, वीरगञ्ज उपमहानगरपालिकाका उपमेयर शान्ति कार्की लगायतले सम्बोधन गरेका थिए।
रौतहटको गौरमा पनि नागरिकता बिधेयकको बिरुद्ध नेपाली कांग्रेसले प्रदर्शन गरेको छ। पार्टी सभापति कृष्ण यादबको अगुवाईमा भएको बिरोध प्रदर्शनमा पार्टीका भातृ संस्थाहरुको सहभागिता रहेको थियो। कोणसभालाई सम्बोधन गर्दै सभापति यादबले कम्युनिष्ट सरकारले मधेसी जनतामाथि गरेको अत्याचार बन्द नगरेमा सरकारबिरुद्ध सशक्त ढंगबाट आन्दोलन अघि बढाउने बताए। उनले मधेशी जनताको हक अधिकारका लािग कांग्रेसले शुरु गरेको आन्दोलनमा मधेशका जनताको साथ र सहयोग रहने बिश्वास व्यक्त गरे।
सप्तरीमा पनि बिरोध प्रदर्शन भएको छ। जिल्ला सदरमुकाम राजविराजको शिबमन्दिर चोकबाट शुरु भएको बिरोध प्रदर्शन नगरपरिक्रमा गरेपछि कोणसभामा परिणत भएको थियो। पार्टी सभापति दिनेश यादबको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा भातृसंस्थाहरुको सहभागिता रहेको थियो।