नागरिकता ऐन संसोधन विद्येयकप्रति असन्तुष्ट जनाउँदै जनता समाजवादी पार्टी निकट युवाहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन्।
भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधानको बिरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्। मधेसी समुदायलाई अपमान गर्न, राज्यको निकायमा पुग्नबाट वञ्चित गर्न संसोधन विद्येयक ल्याएको उनीहरुको आरोप छ।
‘मधेसीमाथि अत्याचार बन्द गर’, ‘महिलामाथि विभेद र अत्याचार गर्न पाइँदैन’, ‘रोटी बेटीको सम्बन्ध विगार्न पाइँदैन’, ‘नागरिकता ऐन संसोधन विद्येयक फिर्ता गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित युवाहरु प्रदर्शनमा उत्रिएका हुन्।
समाजवादी आवद्ध युवा ईश्वर यादवले नागरिकता ऐन संसोधन विधेयक फिर्ता नभए मधेस आन्दोलनभन्दा ठूलो आन्दोलन हुने चेतावनी दिए। उनले भने, ‘अधिकारका लागि मधेस आन्दोलनमा दिएको आहुतीभन्दा पनि अगाडि बढेर हतियार उठाउन सक्छौं ।’
ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत मधेस केन्द्रित दलहरू विरोध जनाउँदै आएका छन्।