संसदीय विकास कोषको रकम कसरी दुरुपयोग भएको छ भन्ने बुझ्न सिरहाको मिर्चैया नगरपालिका पुगेपछि प्रष्ट हुन्छ।
तत्कालीन माओवादीबाट निर्बाचित सिरहाका क्षेत्र नं को ४ क प्रदेशबाट निर्बाचित सांसद दिलिप साहले विद्यालयको भवन निर्माणका नाममा कोषको रकम दुरुपयोग गरेका हुन्। संसदीय विकास कोषको रु. ३० लाख बजेट उनले विद्यालयको भवन बनाउने नाममा दुरुपयोग गरेका हुन्।
वडा अध्यक्ष मोहन प्रसाद पोखरेललाई समेत थाहा नदिई सांसद साहले मिर्चैया नगरपालिका वडा नं ९ को जनता प्राथमिक विद्यालय भगवानपुर महलवोनाको भवन बनाउन बनाउने काम धमाधम अगाडि बढाएका छन्।
विद्यालय भवन र कम्पाउण्ड निर्माणको यो काममा तीनसुते रड प्रयोग गरिएको छ भने इट्टा गुणस्तरहीन राखिएको छ। यसैगरी त्यसमा प्रयोग गरिएको सिमन्ट पनि कम गुणस्तरको रहेको छ। आफ्ना निकटका मान्छेहरु अघि सारेर नाममात्रको भवन बनाई रकम दुरुपयोग गर्न सांसद साह लागि परेपछि स्थानीयले त्यसको बिरोध गरेका छन्। तर सांसद साहले भने आफ्ना कार्यकर्तालाई कसैको कुरा नसुनी काम अघि बढाउन निर्देशन दिएका छन्। स्थानीयले सरकारी बजेटमा सार्वजनिक निर्माणको काम यसरी मनपरी ढंगबाट गर्नु हुँदैन भन्दा सांसद साह आफूले ल्याएको बजेट कसरी खर्च गर्ने भनेर कसैले सिकाउनु नपर्ने भन्दै आएका छन्।
आर्थिक बर्षभित्र काम सक्नु पर्ने भएको भन्दै गुणस्तरको कत्ति पनि ख्याल नगरी उनले रातदिन नभनी काम गर्न लगाएका छन्। सरकारी सम्पत्तिको यसरी दुरुपयोग भएपछि स्थानीयले अख्तियारको ध्यानाकर्षण गराउदै बर्सिबासस्थित कार्यालयमा उजुरी दिएका छन्। संसदीय विकास कोषको रकम चरम दुरपयोग भएको भन्दै छानबिन गरी प्रदेश सांसद साहमाथि कार्बाहीको माग गरेका छन्।