नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५ जेठभित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न सबैमा आग्रह गरेका छन्।
आन्तरिक राजस्व विभागले २५ जेठभित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेपछि यस्तो प्रतिकुल परिस्थितिमा यसरी ताकेता गरेपछि सभापति देउवाले त्यसको भद्र अबज्ञ गर्न आह्वान गरेका हुन्।
२५ जेठभित्र कर चुक्ता नगरे नभए जरिवाना लाग्ने भन्ने बिभागको उर्दीको व्यवसायीहरूले विरोध गरिरहेका बेला मुख्य विपक्षी दल कांग्रेसका सभापति देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाए।
यस्तो बेलामा सरकारले सहजीकरण गर्नुपर्ने भन्दै देउवाले सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको नरहने बताएका हुन्।
उनले लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याङ्कन गर्न र २५ जेठभित्र कर तिर्न गरिएको ताकेता फिर्ता गर्न समेत सरकारसँग माग गरेका छन्।